भ्रष्टाचार नियन्त्रणका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गर्न आवश्यक छ : नेता केसी

नेपाली काङ्ग्रेसका नेता माननीय अर्जुननरसिंह केसीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका युवा नेता महेश बर्तौलातर्फ संकेत गर्दै भनेका छन्, “एक अर्कालाई दोषारोपण गर्दैमा देश बन्ने छैन र हामीले चाहेको सुशासन तथा भ्रष्टाचारको अन्त्य पनि हुन सक्दैन।”

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले आयोजना गरेको नवर्निवाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै केसीले यस्तो धारणा राखेका हुन्।



उनले वर्तमान अवस्थामा देश जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको जनाउँदै भने, “आम जनतामा ठूला राजनीतिक दलप्रति निराशा, अविश्वास, आशंका र आक्रोशको स्थिति बढ्दै गएको छ। यस परिस्थितिमा पूर्वप्रधानमन्त्री दाहाललाई इंगित गर्दै भन्न चाहन्छु कि ‘आफूले गर्दा सबै ठीक  र अरूले गर्दा बेठिक’ भन्ने तर्क नगर्नुहोस् । सत्ताभित्र हुँदा एउटा कुरा र सत्ता बाहिर हुँदा अर्को कुरा भन्दै हिँड्ने प्रवृत्तिले मुलुकलाई सहि दिशा दिन सक्दैन। अध्यक्ष दाहाललाई यस्ता प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दछु।”

नेता केसीले थपे, “भ्रष्टाचारमुक्त समाजको निर्माण नगरीकन सुशासन स्थापित हुन सक्दैन। भ्रष्टाचार नियन्त्रणका लागि कुनै पनि राजनीतिक दलको रंगले नपोतेको, पूर्ण रूपमा निष्पक्ष न्याय दिन सक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा ५ जनासम्मको सर्वशक्तिमान अधिकारसम्पन्न समिति गठन गर्न आवश्यक छ।”

उनले अगाडि थपे “भ्रष्टाचारबाट मुक्त गर्नका लागि मुखले मात्र बोलेर वा भक्तिगान मात्र गाएर सम्भव छैन। अहिलेसम्म नेपालमा चर्चित ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न र संसदमा उठेका भ्रष्टाचारका मुद्दाहरूलाई निष्पक्ष ढंगबाट समाधान गर्नु पर्दछ। म संसदमा पनि यही आवाज उठाउँदै आएको छु।”

नेता केसीले सत्तामा पुगेकाहरूले जनताको भावना बुझेर काम गर्नुपर्ने सुझाव पनि दिए। साथै, पत्रकारहरूलाई देशका ऐना भन्दै उनले भने, “देश निर्माणमा सञ्चार क्षेत्रको अहम भूमिका हुन्छ। पत्रकारहरूको नयाँ नेतृत्वले उल्लेखनीय भूमिका खेल्ने विश्वास छ।”

नेता केसीले कार्यक्रममार्फत नवर्निवाचित नेतृत्वलाई शुभकामना पनि व्यक्त गरे।

सम्बन्धित समाचार