छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।  त्यसअघि बिहीबारै पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो । उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नुभएको थियो ।

जोशी सहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका, रास्वपा सभापति रवि लामिछाने, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा दायर गरिएको थियो ।

यो पनि पढ्नुस :

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

सम्बन्धित समाचार