नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।


जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिकमा राख्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । आज थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो ।
“काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो,” काठमाडौँ अदालतमा स्रेस्तेदार रामु शर्माले भन्नुभयो, “भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।”
रवि लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गर्नुभएको थियो । त्यस्तै उहाँका वकिलहरूले पनि परिवार वा वकिलको जिम्मामा छाड्न भनेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिनुभएको हो । लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।
