नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उहाँमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
उहाँले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो । “पूर्वमुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किंदै हुनुहुन्थ्यो । बाटोमा हातपात भएछ । ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।”
पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताउनुभयो । “हामी निवास फर्किंदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्यो ।”
आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । विर्तासिटी हस्पिटलमा उपचारपछि उहाँ निवास फर्किसक्नुभएको छ । प्रहरीले आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।