नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ माघ ।
फिलिपिन्सको राजधानी मनिलामा मुख्यालय रहेको एडीबी (एशियाली विकास बैंक) को हाल विश्वका ६९ देशहरूमा कार्यालय रहेको छ । नेपालमा सन् १९८९ बाट कार्यालय स्थापना गरी संचालित छ । यो एउटा अन्तर्राष्ट्रिय फाइनान्सियल इन्टिच्युसन हो जसले नेपाल सरकारलाई देश विकास र गरिबी निवारण गर्ने हेतु सहुलियतपूर्ण कर्जा तथा अनुदान उपलब्ध गराउदै आइरहेको छ ।
नेपालमा एडीबीका परियोजनाअन्तर्गत मेलम्ची खानेपानी, कालीगण्डकी ए, गौतमबुद्ध विमानस्थल तथा अरु पनि विभिन्न आयोजनाहरु पनि संचालनमा छन् ।
एकातिर एडीबीले गरिबी निवारणका नाममा करोडौं डलर खर्च गर्दै आएको देखिन्छ तर अर्कोतिर आफ्नो कार्यालयमा विगत २०/२५ वर्षदेखि काम गर्दै आइरहेका सामान्य कर्मचारीहरुमाथि चरम श्रमशोषण गर्ने गरेको, मानव अधिकारको हनन् गर्ने गरेको तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम ऐनको उल्लङ्घन पनि गरिरहेको समाचार प्राप्त भएको छ ।
विशेषगरी न्युनतम सुविधाहरू जस्तै बिरामी बिदा, उपचारको व्यवस्था, सञ्चयकोष, उपदान, चाडपर्व खर्च आदिबाट तल्लो तहका कर्मचारीहरुलाई बञ्चित गरी उत्पीडन दिने काम भइरहेको स्रोतको दाबी छ ।
नेपाल सरकारले जारी गरेको श्रम नियमअनुसार २४० दिन काम गरेका मजदुरहरू स्थायी गरी सबै प्रकारका सुविधा उपलब्ध गराउनु पर्ने छ, तर कर्मचारीहरूले व्यवस्थापनसँग यस सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि कानुनअनुसार सुविधा दिनुको साटो कर्मचारीहरुसँग कुनै प्रकारको सरसल्लाह नै नगरी एकतर्फी रुपमा आफ्ना कर्मचारीहरूलाई बजारमा अरु कम्पनीमा बिक्री गर्ने शैलीमा स्थानान्तरण गर्न पत्रिकामार्फत विज्ञापन निकल्ने काम गरेकोे छ । एडीबीको यस प्रकारको कर्मलाई कर्मचारीहरू निराशा व्यक्त गर्दै कानुनी उपचार खोज्ने बताउँछन् ।
आफूलाई नचिनाउने सर्तमा कर्मचारी भन्छन्, ‘एडीबीले तल्लो तहका कर्मचारीहरूको सामान्य मागलाई पनि बेवास्था गरी मनोपोली निर्णय गरेमा आफूहरू स्थानीय सरकार, अन्तर्राष्ट्रिय अदालत, मानव अधिकार आयोग र नागरिक समाजमा आफ्ना गुनासाहरू राख्दै कानुनी उपचार खोज्न बाध्य हुनेछौें ।’