मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ । लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एक सय १७ किमी तेह्रथुममा पर्दछ ।

जिल्लाको आठराई गाउँपालिका-६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहानडाँडा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र सङ्क्रान्ति, फेदाप, सदरमुकाम म्याङलुङ हुँदै पर्यटकीय बजार वसन्तपुर भएर अघि बढेको हो ।



आर्थिक वर्ष २०६४/६५ देखि निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गले जिल्लाबासीलाई यातायात सेवाको सहज पहुँचमा जोडेको हो । लोकमार्ग बन्नुअघि आठराई क्षेत्रका स्थानीयले छिमेकी जिल्ला पाँचथरको फिदिमबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु ढाकरमा बोकेर ल्याउनुपर्र्ने बाध्यता थियो । त्यतिबेलाको एक दिनको बाटो लोकमार्ग बनेपछि एक घण्टामा छोटिएको आठराईका नरेन्द्र इङनामले बताउनुभयो ।

लोकमार्ग नहुँदा प्रशासनिकसहित अन्य कामका लागि सदरमुकाम म्याङलुङ एक दिन पैदल हिँडेर आउनुपथ्र्यो । अहिले लोकमार्गको बाटो भएर सवारीसाधनमार्फत् तीन घण्टामा पुगिने आठराई-१ का वडाध्यक्ष रोहित कन्दङवाले जानकारी दिनुभयो ।

लोकमार्गले जिल्लाको आठराई, फेदाप, लालिगुराँसलगायत पालिकालाई सदरमुकाम म्याङलुङसँग प्रत्यक्ष जोडेको छ भने अन्य पालिकाबासीलाई पनि सदरमुकाम पुग्न सहज भएको छ ।

जिल्लाका उत्पादनलाई बाहिर जिल्ला पठाउन र जिल्लाका बजारसम्म पु-याउन सुविधा भएको तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजिव ढुङ्गानाले बताउनुभयो ।

पाँचथरको चिवाभञ्ज्याङबाट मध्यपहाडैपहाड बैतडीको झुलाघाट जोड्ने लोकमार्गअन्तर्गत तेह्रथुममा २४ दशमलव चार किमी बाहेक सबै सडक कालोपत्र भइसकेको छ । फेदाप गाउँपालिकास्थित यावरा-पञ्चमी हुँदै खोरङवा खोलासम्मको खण्ड कालोपत्र हुन बाँकी रहेको मध्यपहाडी लोकमार्ग फिदिम पाँचथर कार्यालयका इन्जिनियर राजनारायण सरदारले जानकारी दिनुभयो ।

सोमध्ये १० किमी कालोपत्रको काम भइरहेको उहाँले बताउनुभयो । बाँकी खण्डको कालोपत्रका लागि भने बजेट सुनिश्चितता भइनसकेकाले अन्योलता आएको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार