नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, देवदह नगरपालिका-१० चरङगेस्थित सडकमा लु.१८ प ३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय नारायण सुनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-९ मोन्टनास्थित सडकमा लु.३२ प ९००८ नम्बरको मोटरसाइकलले लु.११ प १०४८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा लु.११ प १०४८ नम्बरको मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-५ बस्ने ४५ वर्षीय सिद्धार्थ कुमार उदयको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । लु.३२ प ९००८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरी, खड्क नगरपालिका-५ रंजितपुरस्थित सडकमा स.१ त ७४३३ नम्बरको ट्याक्टर बुधबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० बस्ने २५ वर्षीय प्रमोद रामको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त ट्याक्टरले स.९ प ६५६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । साथै मोटरसाइकलमा सवार दुई जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।