नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
सहकारी ठगीको आरोपमा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुखसहित पाँचजना पक्राउ परेका छन् ।
बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित सहकारीका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थापासहित सहकारीका तत्कालीन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मनप्रसाद थजाली, थमबहादुर गर्वुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
सहकारी रजिष्ट्रार कार्यालय पोखराले गरेको छानबिनका क्रममा उक्त सहकारीका बचतकर्ताहरूको रकम दुरुपयोग गरेको भेटिएको र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएको थियो । त्यसै आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।