सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जाजरकोट, छेडागाड नगरपालिका-११ सिम्लेखोलास्थित सडकमा भे.१ क १०५५ नम्बरको टिपर मंगलबार बिहान दुर्घटना हुँदा टिपरमा सवार दाङ तुल्सीपुर उपमहानगरपालिका-३ बस्ने ४२ वर्षीय हरि प्रसाद भट्टराईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका सहचालकको मध्यपहाडी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई थप उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।

त्यस्तै धादिङ, धुनीवेशी नगरपालिका-३ छत्रपार्टीस्थित सडकमा काठमाडौंबाट धार्केतर्फ जाँदै गरेको बा.३ क ३०५२ नम्बरको गाडी अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गाडीमा सवार रोल्पा परिवर्तन गाउँपालिका-५ बस्ने ३४ वर्षीय जिवन खड्काको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको बीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै महोत्तरी, मटिहानी नगरपालिका-३ आवर चोकस्थित सडकमा ज.८ प २९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ बस्ने २१ वर्षीय प्रवेश मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता काठमाडौं, चन्द्रागिरी नगरपालिका-९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२-०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार