नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कैलाली, जोशीपुर गाउँपालिका-५ मैनपोखरी नहरको पुलस्थित सडकमा सु.प.०१- ००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरूनीको बिहीबार बेलुकी मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कालिकोट, नरहरिनाथ गाउँपालिका-९ छिप्पे खोलास्थित सडकमा क प्र.०२-००१ क ०८२० नम्बरको मिनि ट्रक अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका-८ लालु बस्ने ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिन्धुली, गोलन्जोर गाउँपालिका-५ स्थितमा सडकमा बा.प्र.०१-०३० च ९६४२ नम्बरको इभी गाडी अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ चरौँदीस्थित सडकमा बा.१२ च १९१६ नम्बरको कार र बागमती प्रदेश ०१-०२७ च ८५०५ नम्बरको गाडी एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा कारमा सवार काठमाडौं महानगरपालिका-१६ बस्ने ५३ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बिर्तामोड नगरपालिका-६ जलकन्या बस्ने ६५ वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यता काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित सडकमा बा.५ ख ६६४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ७७ वर्षीया तारा कुमारी भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-५ नेपालगंज रोडस्थित सडकमा लु.२ ख ३३३६ नम्बरको टिपरले लु.४१ प १५२८ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१६ बस्ने ४६ वर्षीय उमेश बहादुर भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।