नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० माघ ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-१ स्थित सडकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख ५४९७ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२ आँपटारी बस्ने ६५ वर्षीय राम बहादुर उपरकोटीको मृत्यु भएको छ ।
माइक्रोले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै रोल्पा, रून्टीगढी गाउँपालिका-२ लामीडाँडास्थित सडकमा रून्टीगढीबाट धारापानीतर्फ जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका-२ धारापानी बस्ने ६५ वर्षीय ईन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अटो चालक समेत दुई जनालाई थप उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
यस्तै नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१ मिलनचोकस्थित सडकमा बा.५ ख ६२५२ नम्बरको बसले ना.४३ प ५३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक गैंडाकोट नगरपालिका-१ बस्ने पर्सा धोबीनी गाउँपालिका-३ घर भएका ३० वर्षीय अर्जुन महत्तोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता चितवन, रत्ननगर नगरपालिका-५ जनकल्याण चोकस्थित सडकमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने २८ वर्षीय आलोक महत्तोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।