नवराज घिमिरे
काठमाडौं, १ फागुन ।
तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वको बीउ रोपेको ३० वर्ष पुगेको छ। २०५१ फागुन १ गते भूमिगत शैलीमा क्रान्तिको बिगुल फुकेर माओवादीले आफ्नो अभियान सुरु गरेको थियो। माओवादीले भूमिगत क्रान्तिको सुरुवात विकट दुर्गम बस्ती रोल्पाबाट गरेको थियो। तर, त्यही रोल्पा आज पनि उस्तै छ।
रोल्पाजस्तै अरू विकट गाउँबस्तीहरू- रुकुम, कालीकोट, कर्णालीका विभिन्न ठाउँहरू फेरिएका छैनन्। आम मानिसको जीवनस्तर परिवर्तन भएको छैन। हिजो जस्तो थियो, आज पनि उस्तै छ। तर, तिनै युद्धको नेतृत्व गर्ने नेताहरू भने एसियाकै धनी व्यक्ति बनेका छन्। आलिशान बंगला, महल, करोडौंका गाडी र विलासी जीवनमा प्रवेश गरिसकेका छन्।
तर, उनीहरूलाई त्यहाँ पुर्याउने जनता भने आज पनि अभाव, पीडा, र गरिबीमा छटपटाइरहेका छन्। हिजो नेताहरूले देखाएका आशा र अपेक्षाहरूलाई समेटेर बसेका ती जनता अहिले पनि बिभिन्न अपूरा विकास निर्माणका परियोजनाहरूले माओवादीलाई गिज्याइरहेको महसुस गर्छन्।
करिब तीन दशकअघि तिनै विकट बस्ती, पाखा-पखेरा र झुपडीबाट सुरु भएको माओवादीको यात्रा तिनै गाउँबस्तीको सेरोफेरोमै हराएको छ। रोल्पाको होलेरी, रुकुमको आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकी र बैंकहरू कब्जा गर्दै विधिवत् रूपमा सशस्त्र युद्धको सुरुवात गरिएको घोषणा गरिएको थियो।
त्यस दिनदेखि करिब एक दशक लामो चलेको सशस्त्र द्वन्द्वमा १७ हजारभन्दा बढीले ज्यान गुमाए। अर्बौंको भौतिक संरचना ध्वस्त भयो। लाखौं घाइते र अंगभंग भए, कयौं बेपत्ता भए। कति टुहुरा बने, हजारौं चेलीको सिउँदो पुछियो र कयौं घरवारविहीन हुन पुगे। राज्य पक्ष र माओवादी पक्ष एकअर्कासँग भिड्दा देशको विकासको गति २० वर्ष पछाडि पर्यो।
त्यसबेला माओवादी सैन्य कमाण्डर सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। उनकै नेतृत्वमा सैन्य कमाण्डरहरू वर्षमान पुन, जनार्दन शर्मा, नन्दकिशोर पुन, र रामबहादुर थापा ‘बादल’ थिए। तिनै बादल अहिले नेकपा एमालेमा छन्। हाल एमाले नेता केपी शर्मा ओलीलाई खुसी पार्न उनले “त्यो द्वन्द्व हिंसा मात्र थियो” भनेर परिभाषित गरिदिए । यदि त्यो हिंसा मात्र थियो भने, त्यही हिंसाको जगमा बसेर किन जनआन्दोलन गरिएको थियो? किन विद्यालयमा पढिरहेका कलिला विद्यार्थीहरूको कलम र कापी खोसेर हातमा बन्दुक थमाउँदै युद्धमैदानमा होमियो ?
“बुर्जुवा शिक्षाको काम छैन” भन्दै जंगलतिर लखेटिएका ती बालबालिकाहरूका आफ्ना नेताहरूले भने आफ्ना छोराछोरीलाई भूमिगत शैलीमै महँगा विदेशी विद्यालय र कलेजहरूमा पठाएर त्यही बुर्जुवा शिक्षा पढाएका थिए। आज तिनै नेताहरू जनतासामु हिजो गरेका वाचा पूरा गर्न नसक्दा माओवादीप्रति जनताको विश्वास दिन प्रतिदिन खस्कँदो छ। देशकै पहिलो ठूलो दल बनेको माओवादी आज तेस्रो स्थानमा खुम्चिन पुगेको छ, त्यो पनि कांग्रेससँग गठबन्धन गरेर।
तिनै होलेरी, सिन्धुलीगढी, रुकुम, र जाजरकोटजस्ता माओवादी आन्दोलनका उद्गमस्थलका युद्धगाथा र कथाहरू गन्नै नसकिने छन्। ती कथाहरूले नेताहरूलाई गिज्याइरहेका छन्। शान्ति स्थापनापछि समृद्धि आउँछ भनिएको रोल्पा, सल्यान, जाजरकोट, र रुकुम आज पनि उस्तै छन्। समयसँगै कहिल्यै अगाडि बढ्न सकेनन्, न त नेताहरूले नै अगाडि बढाउन सके। हिजोका वाचा सबै बिर्सेर नेताहरू सत्ता, सुख-सयल, अनि कुर्सीको खेलमा अल्मलिएका छन्।
अचानक फेरिएको उनीहरूको जीवनशैली अनि जिल्लाका गाउँ-बेसीको अवस्थाबीच कहिल्यै सामीप्यता गास्न नचाहने नेतृत्वको व्यवहारका कारण अहिले ती गाउँ-बेसीका जनता दिक्क छन्। जिल्लामा सडक सञ्जालबाहेक अन्य मानव विकासको गति कछुवाको गतिमा छ। सशस्त्र द्वन्द्वको सम्झना भुलिसकेका माओवादी नेतृत्वहरू सत्ताको स्वादमा रमाइरहेका छन्। तर उनीहरूलाई सत्तामा पुर्याउने तिनै विकट बस्तीका जनताहरू भने आज पनि पुरानै अवस्थामा बाँचिरहेका छन्।
“माओवादी सहर पसेर रहर पूरा गरे,” एक नेताले भने। “जनयुद्ध जनताको लागि थियो, तर नेतृत्व जनभावना अनुसार चलेन।”
कुनै समय एमालेसँग गठबन्धन गर्दा किनारामा पारिएको माओवादी अहिले झुन्ड्याइएका राजनीतिक दलजस्तै बनिसकेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार माओवादीको व्यवहार क्रमशः माओवादी हराउँदै गइरहेको छ।
देशका विभिन्न ठाउँमा हुने औपचारिक कार्यक्रममा नेताहरूको ‘राजसी’ व्यवहार झल्किन्छ। क्रान्तिकारी भनिएका नेताहरूको दैनिकी निरङ्कुश तानाशाहको झल्को दिने जस्तो गरी परिवर्तन भएको छ।
यसरी हेर्दा फागुन १ लाई “जनआन्दोलन दिवस” का रूपमा मनाउनु कत्ति पनि सुहाउँदैन। यो त कार्यकर्ताहरूलाई थामथुम पार्ने बहाना मात्र हो। जनतालाई परिवर्तनको प्रत्याभूति नदिई राजकीय शैलीमा गरिने ‘पिर्के सलामी’ र सयौं किलोको माला भिरेर देखाइने नव-तामझाम कति पनि सुहाउँदो लाग्दैन ।