सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पर्वत, विहादी गाउँपालिका-१ बाह्रबिसेस्थित सडकमा ध.१ च २८२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-१ कमेरे बस्ने ५० वर्षीय बल बहादुर माझीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिप चालकलाई थप उपचारको लागि मणिपाल अस्पताल कास्की पठाइएको छ । त्यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ जमुनीस्थित सडकमा यूपी ५५ सी ४१५२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री महाराजगंज नगरपालिका-७ रेहनिया बढईपुर बस्ने ४५ वर्षीय राम निवास चौहानको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै नवलपरासी पश्चिम, कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकमा रोकी राखेको लु.२ ख ४१६६ नम्बरको टिपरमा ना.३८ प १२७५ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक देवचुली नगरपालिका-१६ नयाँबजार बस्ने २९ वर्षीय केशव महत्तोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता चितवन, राप्ती नगरपालिका-५ स्थित सडकमा प्रदेश ३-०१-०२४ च ६०३८ नम्बरको जिपको ठक्करबाट साइकलयात्री राप्ती नगरपालिका-४ प्रेमबस्ती बस्ने ६० वर्षीय काजीमान सुनारको आइतबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार