नवकान्तिपुर संवाददाता
देउखुरी (दाङ), ६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा सोमबार श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उहाँले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताउनुभयो ।
भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो । यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो ।
स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने पोखरेलले बताउनुभयो । श्रीमणि आचार्यको नाम आफ्नै कामले जीवन्त रहेको पोखरेलले धारणा राख्नुभयो ।
उहाँको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको उहाँले बताउनुभयो । दाङको कम्युनिष्ट आन्दोलनमा श्रीमणि आचार्यले दिनरात खटेर पार्टीको नेतृत्व गर्नुभएको थियो । उहाँको २०६४ पुस ३ गते मृत्यु भएको थियोे ।