नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । रूपन्देही, सम्मरीमाई गाउँपालिका-२ बनगाईस्थित सडकमा करौताबाट बनगाईतर्फ जाँदै गरेको युपि ५५ क्यु ८४३२ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-१ करौता बस्ने ५५ वर्षीया ज्ञानमती चमारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ३ जनाको भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
यसैगरी रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलवारस्थित सडकमा महिलवारबाट पडरियातर्फ जाँदै गरेको लु.४३ प ५७३५ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै धनुषा, मिथिला नगरपालिका-६ स्थित सडकमा प्रदेश २-०२-००३ प ६९०५ नम्बरको मोटरसाइकल ज.१ त २२३१ नम्बरको ट्याक्टरमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी घर भएका २८ वर्षीय सुरज कुमार झा को मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै संखुवासभा, सभापोखरी गाउँपालिका-६ स्थित सडकमा बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे.२ त १९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक चैनपुर नगरपालिका-६ बस्ने १९ वर्षीय रबि बराईलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यता उदयपुर, उदयपुरगढी गाउँपालिका-७ जोगि टोलस्थित सडकमा बाग्मती प्रदेश ०६- ००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा बसमा सवार बारा घर भएका ७० वर्षीय सिताराम धामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पताल र ३ जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।