नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।


देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेलधुरा आलिताल गाउँपालिका-७ बस्ने ५८ वर्षीय भोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भोज बहादुरले ती बालिकालाई गत असारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर, बागमती गाउँपालिका-२ बस्ने ३७ वर्षीय निर बहादुर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


