सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी पुलस्थित सडकमा ना.१६ प ३१८१ नम्बरको मोटरसाइकललाई ना.६ ख ४०५५ नम्बरको ट्रकले सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार चितवन रत्ननगर नगरपालिका-१६ पिठुवा बस्ने ५६ वर्षीय निम बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-३ रानामार्गस्थित सडकमा से.२ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै गोरखा, शहिद लखन गाउँपालिका-३ कान्टारस्थित सडकमा मनकामनाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको अन टेष्ट लेखिएको माइक्रो सडकबाट १५ मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा माइक्रोमा सवार चितवन खैरेनी गाउँपालिका-२ टाँडी पर्सा बस्ने ३७ वर्षीय पदम बहादुर दर्जीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आँबुखैरेनी गाउँपालिका अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका माइक्रो चालक समेत १४ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार