सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । महोत्तरी, बर्दिबास नगरपालिका-६ बंगलामुखी क्रसर छेउस्थित सडकमा म.प्र.०२- ००८ प १०८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ मनहरीपुर बस्ने २२ वर्षीय बिमल विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी महोत्तरी, पिपरा गाउँपालिका-६ छोटका पोखरीस्थित सडकमा रतौलीबाट रतनपुरतर्फ जाँदै गरेको ज.उ.म.न.पा.१ ख ०१०७७ नम्बरको ई-रिक्सा अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक धनुषा जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय रवीशंकर ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सर्लाही, चक्रघट्टा गाउँपालिका-२ बेल्हीस्थित सडकमा बीआर ३० पी १७०३ नम्बरको स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय अमित कुमार अधिकारीको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार