नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनका नेता भोलोदिमर जेलेन्स्की ह्वाइट हाउसमा भएको झडपको केही दिनपछि रुससँग वार्ता गर्न र अमेरिकी खनिज सम्झौतालाई अन्तिम रूप दिन तयार रहेको बताउनुभएको छ ।
“मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीबाट एउटा महत्त्वपूर्ण पत्र प्राप्त गरेँ, पत्रमा लेखिएको छ, ‘युक्रेन स्थायी शान्ति नजिक ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार छ । युक्रेनीहरूभन्दा बढी कसैले शान्ति चाहँदैनन्’”, ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्दै भन्नुभयो, “उहाँले भन्नुभयो, ‘मेरो टोली र म राष्ट्रपति ट्रम्पको दृढ नेतृत्वमा स्थायी शान्ति प्राप्त गर्न तयार छौँ, हामी अमेरिकाले युक्रेनको सम्प्रभुता र स्वतन्त्रता कायम राख्न गरेको सहयोगलाई धेरै महत्त्व दिन्छौँ’ ।”
यसअघि मङ्गलबार जेलेन्स्कीले शुक्रबार उहाँहरूका बीचको विवादपछि ट्रम्पसँग ‘कुरा सुधार गर्न’ चाहेको बताउनुभएको थियो । ओभल अफिसमा उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई अमेरिकी सहायताप्रति कृतघ्न भएको आरोप लगाउनुभएको थियो भने ट्रम्पले युद्धरत नेतालाई ‘खेल्ने कुनै कार्ड छैन’ भन्दै आलोचना गर्नुभएको थियो ।
जेलेन्स्की युक्रेनी खनिज स्रोतहरूमा नियन्त्रण सुरक्षित गर्न अमेरिकालाई ट्रम्पद्वारा गरिएको सम्झौतामा हस्ताक्षर नगरी नै प्रस्थान गर्नुभएको थियो । पछि ट्रम्प प्रशासनले तीन वर्षअघि रुसले आक्रमण गरेको युक्रेनलाई सबै सैन्य सहायता स्थगित गरेको बताएको थियो।
“खनिज र सुरक्षासम्बन्धी सम्झौताका सन्दर्भमा युक्रेन कुनै पनि समयमा तपाईँका लागि सुविधाजनक हुने गरी हस्ताक्षर गर्न तयार छ, उहाँले यो पत्र पठाएकोमा म आभारी छु, यो केही समयअघि मात्रै प्राप्त भयो”, विपक्षी डेमोक्रेटिक पार्टीका धेरै सांसदले आफ्नो ल्यापेलमा अमेरिकी र युक्रेनी झण्डा लगाएका कंग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, “साथै हामीले रुससँग गम्भीर छलफल गरेका छौँ र उनीहरू शान्तिका लागि तयार छन् भन्ने बलियो सङ्केत प्राप्त गरेका छौँ, के त्यो सुन्दर हुँदैन ?“