नवकान्तिपुर संवाददाता
गोदावरी(कैलाली), २१ फागुन ।
राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्ने बताउनुभएको छ ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बुधबार धनगढीमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानको उद्घाटन गर्दै उहाँले दुई दल मिलेर बनेको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।
पार्टी र सरकारबीच समझदारी गरी सुदृढ दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो । जनताको हितमा संविधान संशोधन गरिनुपर्ने बताउँदै नेता सिटौलाले हरेक आन्दोलनले आधुनिक नेपालको जग निर्माण गरेको र हरेक आन्दोलनको अगुवाइ कांग्रेसले गरेको दाबी गर्नुभयो ।
नेता सिटौलाले सडकमा चिच्याएर, कराएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने ठोकुवा गर्नुभयो । कार्यक्रममा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य नृप बड, सुशीला मिश्र भट्टलगायतले पार्टीलाई मजबुत बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।