बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहनुभएको छ ।



आज बिहान हुलाकी राजमार्गअन्तर्गत बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना६ख ५०६७ नंको बसले ना३९प ७३६७ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ ।

घटनालगत्तै यादवलाई प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो । अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाइघाट हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार