नवकान्तिपुर संवाददाता
महोत्तरी, २४ फागुन ।


नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ ।
परम्परागत रूपमा प्रत्येक वर्ष आयोजना हुने मिथिला मध्यमा परिक्रमा हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको छ । यस परिक्रमाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
नेपाल–भारत खुला सीमाको कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्ने अवसर पनि प्रदान गरेको संस्थाको केन्द्रीय अध्यक्ष डा.राजीव झाले बताए ।
यसै सन्दर्भमा महोत्तरी जिल्लाको पाँच वासामध्ये अन्तिम चरणको कंचनवन वासमा हेल्पडेस्क सञ्चालन गरिएको थियो ।
नेपाल–भारत खुला सीमाको फाइदा बारे बोल्दै संस्थाको केन्द्रीय उपाध्यक्ष शिवशंकर साह हिराले नेपाल–भारत खुला सिमानाका कारण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सहज रूपमा सम्पन्न गर्न सकिने बताए ।
भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु–सन्तहरूले बिना झन्झट नेपाल प्रवेश गरी परिक्रमा गर्न पाउने सुविधा पाएका छन् । यसले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सहयोग गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पु–याएको बताए ।


