नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिरहा, अर्नामा गाउँपालिका-३ पछवारी टोलस्थित सडकमा अर्नामा बजारबाट अर्नामा गाउँतर्फ जाँदै गरेको स.१ द ८५ नम्बरको ट्याक्टरको ठककरबाट साइकलयात्री सोही ठाउँ बस्ने राम सेवक महतोको छोरा १३ वर्षीय सतिस कुमार महतोको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-१४ स्याउले बजारस्थित सडकमा से.२ प ३५९० नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा से.२ प ३५९० नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका-६ बस्ने ४० वर्षीय रूपलाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको नोभा अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
यसैगरी कैलाली, चुरे गाउँपालिका-५ निङलाडीस्थित सडकमा दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १५२२ नम्बरको जिप अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक डोटी सायल गाउँपालिका-४ घर भएका २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य तीन जनालाई उपचारको लागी मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । यस्तै तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित सडकमा पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग.१३ प ५०६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बेलचौतारा बस्ने ५२ वर्षीय बालकृष्ण पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपी कोइराला श्ववास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । यता रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ बेलवास शिवालय मन्दिर अगाडि सडकमा ग.१ ज ७८०५ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीया प्रबिना क्षेत्रीको मृत्यु भएको छ ।
गाडीले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बुटवल हस्पिटल प्रालिमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।