नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । काठमाडौं, तार्केश्वर नगरपालिका-१० मनमैजु फुलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका-४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, तार्केश्वर नगरपालिका-६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजन सोही नगरपालिका-३ तीनपिप्ले पाँचमाने शिवपुरी जङ्गलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बारा, आदर्शकोतवाल गाउँपालिका-५ टेडाकट्टीस्थित चिउटाही खोलामा सोही ठाउँ बस्ने २६ वर्षीय धेनुक राय यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-१२ देउती टोल डेरा गरी बस्ने कास्की बैदाम नगरपालिका-६ घर भएकी ३८ वर्षीया सीता घर्ति आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । उता सुनसरी, हरिनगर गाउँपालिका-४ मुसहरी टोल बस्ने ५५ वर्षीय विष्णु ऋषिदेव आफ्नै घर नजिकै रहेको बाँसको झ्याङमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।