सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भोजपुर, आमचोक गाउँपालिका-६ थापाचोकस्थित सडकमा पुर्णे बजारबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका-७ बस्ने २१ वर्षीय नारायण राईको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै म्याग्दी, रघुगंगा गाउँपालिका-४ बुकुलास्थित सडकमा डिपि २ ए ७०८३ नम्बरको सिमेन्ट घोल्ने गाडी सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा चालक बेनी नगरपालिका-२ खबरा बस्ने ४२ वर्षीय हेम बहादुर घिमिरेको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै उदयपुर, त्रियुगा नगरपालिका-८ सरस्वती पुलस्थित सडकमा रोकी राखेको प्रदेश २-०१-००१ त २३०१ नम्बरको ट्याक्टरमा बा.६४ प ५१७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ भान्टावारी बस्ने ३४ वर्षीय भुवन राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकमा गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ बस्ने ५५ वर्षीय जयप्रकास जयसवालको मृत्यु भएको छ ।

एम्बुलेन्सले बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको एएसएण्डपि हस्पिटल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार