नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ चैत ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित सडकमा ज.१ स ३४८७ नम्बरको इ- रिक्सालाई स.१ च १३९२ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिँदा इ-रिक्सामा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका-७ कुम्हरौरा बस्ने २४ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङ, सुनवर्षी नगरपालिका-१ कमलपोखरीस्थित सडकमा ना.४ ख ८८४३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राजकुमार परियारकी छोरी ९ वर्षीया सन्जु परियारको आइतबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कैलाली, गोदावरी नगरपालिका-५ स्थित सडकमा सु.प.प्र.०१-००९ प १२५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजेन्द्र सुबेदीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।