नेपाली काङ्ग्रेस इतिहासमा सदैव सङ्कटमोचक शक्तिको भूमिकामा रहँदैआयो  : केसी

नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले राजावादीहरूले अहिले गरेको सडक प्रदर्शनलाई लक्ष्य गर्दै भनेका छन् ‘सडकमा ओर्लेका जनता पनि नेपाली हुन् । यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलङ्का, बङ्ग्लादेश, सिरियाका शासकहरूको नियतिबाट हामी अपवाद हुन सक्दैनौं ।’

केसीले उक्त कुरा काङ्ग्रेसको कार्यसम्पादन समितिको आइतबारको बैठकमा राखेका हुन् । उनले जनतामा व्याप्त निरासा, अविश्वास र असन्तुष्टिले निकास खोजिरहेको धारणा पनि राखेका छन् ।



नेता केसीले बुँदागत रूपमा आफ्ना धारणाहरूलाई यसरी राखेका छन्–

१. जनतामा व्याप्त निरासा, अविश्वास र असन्तुष्टिले निकास खोजिरहेको छ । यसबारे मैले पार्टीका मञ्च, संसद, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट समेत बारम्बार व्यक्त गर्दैआएको छु ।

२. सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहिनता र दण्डहिनताको एकमुष्ट जनआक्रोश हो । यो वर्तमान ब्यवस्था बिरुद्धभन्दा पनि अवस्था बिरुद्धको आवाज हो । आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ ।

३. अहिले नेपाली काँग्रेस दक्षिणपन्थी जागरणको धार र सत्ताभित्र र बाहिर (‘सत्ताभितर’ र ‘सत्ताइतर’) का वामपन्थी धारको बीचमा छ । काँग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्नु हुँदैन । पार्टी विधानको सर्बोच्चता, विधि र पद्धतिलाई हामीले अपनाउन सकेनौं भने निरंकुशताको विरोध गर्ने हक गुमाउन पुग्छौं ।

४. सडकमा ओर्लेका जनता पनि नेपाली हुन् । यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलंका, बांग्लादेश, सिरियाका शासकहरूको नियतिबाट हामी अपवाद हुन सक्दैनौं ।

५. विशाल जनाधार, गौरवशाली राजनीतिक इतिहास, सारा संरचना र संयन्त्र भएर पनि हामी तदर्थबादी कार्यशैलीबाट चलिरहेका छौं । तर तदर्थवादी शैलीले न शक्ति आर्जन र शक्ति सञ्चय होला, बरु भएको शक्ति नै ह्रास भएर जान्छ ।

६. एशिया-प्यासिफिक ग्रुप (एपीजी) मातहतको फाइनेन्सियल एक्सन टास्क फोर्स (FATF) ले दिएको प्रतिवेदनका आधारमा नेपाल ग्रे लिस्टमा परेको वर्तमान अवस्था छ । गतवर्षभन्दा एक अंकले तल झरेको भ्रष्टाचार सूचकाङ्कबाट गुज्रिरहेकोले अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता र साख गुम्दै गएको छ । ऋणको भारी र भ्रष्टाचारको महामारीले देश आक्रान्त छ । अब युद्धस्तरमा पार्टीले कोर्श करेक्सनको बाटो नलिने हो भने प्रतिक्रान्तिको आँधीले कसैलाई दया-माया नगर्ने निश्चित छ ।

७. नेपाली काङ्ग्रेस इतिहासमा सदैव सङ्कटमोचक शक्तिको भूमिकामा रहँदैआयो । हरेक परिवर्तनलाई सुरक्षित अवतरण (Safe landing) को जिम्मेवारी पाएको पृष्ठभूमीमा अब देशलाई ध्रुवीकरण, द्वन्द्व र विभाजनबाट बचाउनु हाम्रो दायित्व हो ।

 

सम्बन्धित समाचार