खराब आचरण : पतनको मार्ग

रामायणमा एउटा मार्मिक प्रसङ्ग आउँछ । विषयवस्तुको आरम्भ पौराणिक कथाको सानो सन्दर्भबाट गरौं ।

रावणको बध गरेर राम नदी किनारमा टोलाएजस्तो भएर बसिरहेका थिए । ठीक त्यही समय उनी बसेको विपरीत दिशाबाट एउटा नारी छाया रामको अगाडि देखापर्छ । रामले छाया आएको दिशातिर नहेरी आफ्ना दुबै कर कमल जोडेर विनम्र भावमा सोध्छन्– ‘हे माता, तपाई को हुनुहुन्छ र यो रणभूमिका कुन प्रयोजनले आउनुभयो ?’



छाया आएको दिशाबाट मधुर तर कम्पित आवाज आउँछ– ‘म रावणपत्नी मन्दोदरी हुँ । मेरा श्रीमान् लङ्केश्वर रावणलाई पराक्रममा, वैभवमा र रणकौशलमा कसैले पनि जित हासिल गर्न सक्तैनथ्यो । तीनैलोकमा विजय प्राप्त गरेका रावण आज रणमैदानमा लम्पसार भएर लडेका छन् । त्यस्ता वीर पुरुषलाई पनि परास्त गर्न सक्ने राम कस्ता रहेछन् भनेर हेर्न आएकी हुँ ।’

रामले पुनः विनम्र भावले सोध्छन्– ‘तपाईंलेके देख्नुभयो त ?’

मन्दोदरी भन्छिन् ‘एउटा रावण, जसले अर्काकी श्रीमतीलाई राम्री देखेका भरमा छल गरेर ल्याए । अर्को राम, जस्ले पराई स्त्रीको छाया देखेका भरमा, अनुहारसम्म पनि नहेरी सम्मानपूर्वक आफ्ना हात जोडेर यहाँ आउनुको कारण सोध्छन् । राम र रावणमा यही फरक देखें । मान्छे जतिसुकै वैभवशाली वा शक्तिशाली किन नहोस्, यदि ऊ चरित्रहीन वा आचरणहीन हुन्छ भने उसको पतन निश्चित हुने रहेछ ।’

मन्दोदरीको जवाफको मर्मलाई नेपालको आजको अवस्थासँग जोडेर हेरौं । मुलुकमा गणतन्त्र आएपछि धेरै पटक प्रधानमन्त्री भएर मुलुकको डाडुपन्यौं हातमा लिन सफल ओली, देउवा र दाहाल आवश्यकताभन्दा बढी लोभीपापी नभएका भए, विविध काण्ड र भ्रष्टाचारमा लिप्त नभएका भए, आफ्नो युगीन जिम्मेवारी र भूमिकामा अब्बल सावित हुने प्रयास गरेका भए तथा गणतान्त्रिक आचरणलाई शुद्ध राख्न सकेका भए आजसम्ममा नेपाल अर्कै भइसक्थ्यो होला । मुलुक समृद्धिको मार्गमा गतिशील भइसक्थ्यो होला । यदि त्यस्तो भइदिएको भए नागरिकले पूर्वराजालाई सम्झिनुपर्ने अवस्था नै आउने थिएन । नागरिक समाजले उनलाई आफ्नै नेताबाट ‘देश बचाउन आऊ’ भनेर गुहार माग्नुपर्ने स्थिति नै आउने थिएन ।

नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले एक प्रसङ्गमा भनेका छन् ‘अहिलेका मानिसबाट मुलुक बन्दैन । बन्ने भए ३२ वर्षमा बनिसक्थ्यो ।’
उनको यो वस्तुपरक विश्लेषण हो । उनले सङ्केत गरेका ‘अहिलेका मानिस’ ले देउवा, ओली, दाहाल, नेपाल, भट्टराई, खनालआदिलाई जनाउनसक्छ, जसले देशको बागडोर हातमा पाएर पनि देश र जनताका पक्षमा केही गर्न सकेनन् । त्यसमा पनि देउवा, ओली र दाहालहरू पटक पटक मुलुकको कार्यकारी पदमा पुगेर पनि मुलुक र मुलुकबासीका लागि स्मरणयोग्य केही गरेनन् । यिनकै अयोग्यता र असफलताबाट वाक्क भएर नेपाली जनताले पूर्वराजालाई सम्झन पुगेका हुनसक्छन् ।

तर अहिले पूर्वराजाका पक्षमा देखिएको भीड राजावादीको उक्सावटले वा स्वयम् पूर्वराजाले आह्वान गरेका कारणले होइन; यो त आफैंले मत दिएर पठाएका नेताहरूले आफ्नो दायित्व र जिम्मेवारीलाई न्याय गर्न नसक्ता विकल्पको खोजीमा उर्लिएको भीड हो । अझै पनि यिनीहरूबाट मुलुकमा नवीन केही होला कि भनेर अपेक्षा गर्नु भनेको ‘गोरु ब्याउला र बिगौती खान पाइएला’ भनेर आशा गरे जस्तै निरर्थक हुने ठानेर जनताले विकल्प खोजेका हुन् ।

प्रधानमन्त्री ओलीले अलोकप्रियताको रेकर्ड नै बनाए । देशभित्र मात्र होइन, विदेशी भूमिमा पनि उनका नाममा अमर्यादित नारा लागे र लागिरहेका छन् । यो उनकै कर्मको फल हो । कुनै बेला ओलीलाई सिङ्गो देशले त्यस्ता सम्भावना बोकेका नेताका रूपमा हेरेकोथ्यो, जसले निश्चय पनि मुलुकमा समृद्धिको बीजारोपण गर्नेछन् र उनले कोरेको मार्गचित्रमा उत्तरवर्ती प्रधानमन्त्रीहरूले विकासका नाममा एउटा एउटा इँटा थप्तै गए पनि मुलुकले समृिद्धको शिखर चुुम्न लामो समय कुर्नुपर्ने छैन ।

तर आदर्श मानेका ओलीले आफूसँग व्यङ्ग्य, टुक्का र दम्भको भण्डारणबाहेक केही नभएको प्रमाणित गरिदिए । देशका प्रधानमन्त्री सबैको साझा हुनुपर्नेमा उनी कसै–कसैका मात्र प्रधानमन्त्री हुनमा गर्व गरिरहे । त्यसैले उनले ‘राष्ट्रपिता’ हुने सुअवसरलाई गुमाए र एउटा सानो झुण्डको ‘बा’ मा सीमित हुन पुगे ।

आचरणमा शुद्धता नभएपछि शक्तिशाली व्यक्ति पनि कमजोर बन्दछ । उदाहरण ओली नै हुन् । ओलीले इच्छाशक्ति देखाएको भए असम्भव केही थिएन, उनी चुकेकै हुन् । ओली दिशाहीन भएर रूमलिएका बेला उनी निकट रहेकाहरूले पनि उनलाई सही सल्लाह दिन सकेनन् । र, गणतान्त्रिक आचरणमा ओली चुक्न पुगे । नत्र उनको व्यक्तित्वले अरूलाई पनि मिलाएर लान सक्थ्यो । त्यसो गर्न सकेको भए देश अर्कै अवस्था पुग्थ्यो र स्वाभाविक रूपमा नेपाली राजनीतिमा ओलीको कद पनि बढ्थ्यो । ‘आई लभ यु’ भन्ने जनताले अन्यथा नारा लगाउने अवस्था नै आउने थिएन । दलका नेताहरूको अगुवाइमा देश समृद्धिको मार्गतिर गतिशील भएको भए आज पूर्वराजालाई सम्झनुपर्ने अवस्था नै आउने थिएन ।

त्यस्तै, नेपाली जनताले अब देउवा र दाहालबाट पनि तिलस्मी रूपमा केही होला कि भन्ने सम्भावना देखेका छैनन् । छिमेकी मुलुक भारत र चीनले समृद्धिको नयाँ उचाइ हासिल गरिसक्ता पनि बीचमा रहेको नेपाल भने झन झन खस्कँदै गएको देखेपछि २७ खर्ब वैदेशिक ऋणको भारबाट थिचिएका नेपाली जनता विकल्प खोज्न बाध्य भए ।

सामानजस्तै नेता पनि विदेशबाट आयत गर्न मिल्ने भए अहिले देखिएका विकल्प पनि विकल्परहित हुने थिएनन् होला । तर नराम्राहरूमध्येबाट कम नराम्रो छान्नु नेपाली जनताको आजको बाध्यता बनेकोले पूर्वराजा विकल्पका रूपमा आएका हुनसक्छन् । यसैले ओली, देउवा र दाहालहरूले पूर्वराजालाई तथानाम गाली गर्नुभन्दा ‘आजको अवस्था कसरी सिर्जना भयो’ भनेर आत्मसमीक्षा गर्नु समीचीन हुन्छ । ऐना पुछेर अनुहारको दाग मेटिँदैन ।

 

 

सम्बन्धित समाचार