नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।
काठमाडौं महानगरपालिकाका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई उहाँको कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन् । गुरागाईं साढे तीन महिनापछि जिम्मेवारी सम्हाल्न महानगरपालिका पुग्नु भएको हो ।
गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि उपप्रमुख सुनीता डंगोल, वडाध्यक्ष तथा कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठकपछि उनीहरूले ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । कार्यकारी अधिकृत कार्यालय प्रवेश गरेर कार्यकक्षमा पस्न खोजे पनि मेयर साहले उनको कार्यकक्षमा ताल लगाएर चाबी आफैँ बोकेर बेपत्ता भएका कारण केहीबेर प्रमुख प्रशासकीय अधिकृत बाहिरै बसेका थिए ।
नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा पाण्डेले मेयरको मौखिक आदेशमा लगाएको जवाफ दिनुभएको थियो । बैठकमा उपप्रमुख डंगोलले प्रमुख बालेन शाहलाई कोठामा बसेर निर्देशन दिने होइन, कार्यालयमा आएर समस्या समाधानका लागि पहल गर्न सुझाव दिनुभएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि नै पत्र पठाएको थियो । तर, मेयर शाहले भने अर्को प्रशासकीय अधिकृत पठाइदिन ताकिता गरिरहनुभएको थियो । कार्यालय प्रवेश गर्न नपाएपछि गुरागाईँले काम गर्ने वातावरण बनाइदिन मन्त्रालयमा निवेदन दिनुभएको थियो ।
शाहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर नियमित तलबसमेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । कर्मचारीहरूकै सहयोगमा गुरागाईँ नगर प्रहरीको अवरोध छिचोल्दै अघि बढ्ने क्रममा कमलादीस्थित महानगरपालिकामा तनाव भएको थियो ।
मेयर शाहले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारवाही गर्न छानबिन समिति बनाएका थिए । गुरागाईँले गत पुस ८ गतेदेाखि हाजिर गर्न पाएका थिएनन् ।