नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज सुन्न र भावना बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र बढैयातालले शुक्रबार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले जनताको साथ लिएर समृद्ध नेपाल निर्माण गर्ने दृढता व्यक्त गर्नुभयो । अघिल्ला कार्यकालमा भएका केही कमजोरी स्वीकार गर्दै उहाँले भविष्यमा त्यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “सत्तामा जान हतार छैन, तर जनताको सवालमा आलोचना गर्न, दबाब दिन र जनतासँग जोडिन प्रतिपक्षको भूमिकामा रहने छौँ ।” उहाँले जनयुद्ध तथा जनआन्दोलनका क्रममा बर्दिया जिल्लाबाट धेरै सहिद तथा बेपत्ता भएकाले उनीहरूको सम्मान राज्यले गर्नुपर्ने बताउनुभयो । पहिलो कार्यकालमै सहिदलाई राष्ट्रिय मान्यता दिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सत्य निरुपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले छिट्टै काम थाल्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “ऐतिहासिक बलिदानस्थलहरूमा पार्क बनाइने छ, पीडितपरिवारलाई राहत र एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।” कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायत नेताहरूको उपस्थिति थियो ।