नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।
तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी नियन्त्रणमा लिएको छ । उहाँलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आज एक विज्ञप्ति जारी गरी प्रसाई र उहाँका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको बुद्ध एअरको उडानमार्फत काठमाडौं ल्याउन लागिएको समाचारमा जनाइएको छ । पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी हुँदै काठमाडौँको तीनकुनेमा पूर्वराजाको पक्षमा प्रदर्शन आयोजना गरेको थियो।