नवकान्तिपुर संवाददाता
तुलसीपुर, ४ वैशाख l


दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ ।
बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् । पटक-पटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक चक्काजाम गर्नाका साथै सडकमा केरासमेत रोपेका थिए ।
बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताउनुभयो ।
“सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ”, उहाँले भन्नुभयो ।
सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको सङ्घर्ष समितिका सदस्य आकाश भण्डारीले बताउनुभयो ।

