नवकान्तिपुर संवाददाता
बर्दिवास, महोत्तरी : ७ वैशाख ।


शिशिर घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम बर्दिवासमा सम्पन्न भएको छ ।
कार्यक्रम प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ‘अग्नि कवच’ को अध्यक्षता र मधेस प्रदेशसभा क्षेत्र नं. १ ‘क’ की माननीय शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई “शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१” प्रदान गरिएको छ । सम्मान स्वरूप उनलाई नगद रू. १५,५५५/- सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
यसै अवसरमा जनवादी लेखक संघ, सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा दुई विशेष शारीरिक क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्तिस्वरूप जनही रु ५५५५/- प्रदान गरिएको थियो । लाभान्वित हुनेमा जनता मावि गौरीडाँडाकी कक्षा ८ की गरिमा परियार र जनता बहुमुखी क्याम्पस बर्दिवासका चौथो वर्षका विद्यार्थी दिनेश महतो रहेका छन् । साथै साहित्य तथा शिक्षाप्रेमी मिना देवकोटाद्वारा जनता मावि बर्दिवासकी कक्षा १० की सुस्मिता कट्वाललाई रु २५५५/- छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा मधेस र कोशी प्रदेशका विभिन्न जिल्लाबाट साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी अतिथिहरूमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, समाजसेवी सरिता ढुङ्गाना, प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बर्दिवास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रलेस केन्द्रीय सदस्य विमला विक, लेखक निला घिमिरे, गुञ्ज बहादुर कार्की ‘गोपाल’ लगायतका विशिष्ट व्यक्तित्वहरू रहेका थिए ।
कार्यक्रममा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, लालबाबु पोखरेल, सुमित्रा आचार्य, बेल बहादुर परियार, बाबुराम फुयाल, प्रतिमा पौडेल, विपिराज दाहाल, जीवन आचार्य, घनश्याम पन्त, डा. जो जोनसन, डा. जेनी हेरिङटन लगायतका सर्जकहरूले कविता, गीत तथा गजल वाचन गरेका थिए ।
