नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ वैशाख ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा धनुषाधामबाट तेजनगरतर्फ जाँदै गरेको बयल गाडामा प्र.२-०२-००१ प १२१५ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ तेजनगर बस्ने २१ वर्षीय राजेश खत्वे मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको स्थानीय क्लिनिक राजाराममा उपचार भइरहेको छ । हाल फरार बयल गाडा चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी धनुषा, मिथिला नगरपालिका-३ लालभित्तिस्थित सडकमा ना.५ ख ६१०० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया दुर्गा देवी महत्तोको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धनकुटा, धनकुटा नगरपालिका-९ रूद्रबारीस्थित सडकमा मुलघाटबाट धनकुटातर्फ जाँदै गरेको को.२ त ७९३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार शहिदभूमि गाउँपालिका-७ बस्ने २० वर्षीय बिबेक बगाले (थापा) को घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ बिगेपस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय जोखन कोईरीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटि अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा प्रदेश २-०३- ०१३ प ४९२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय उमेश तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
