सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका विभिन्न स्थानबाट भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दाङ, घोराही उपमहानगरपालिका-१० स्थित सडकमा रूकुम पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको रा.१ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय काली प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकस्थित सडकमा आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग.२ ख १०८० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३ बस्ने ६० वर्षीय ताईसन तामाङको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ स्टेशनपुरस्थित सडकमा झलारीबाट स्टेशनपुरतर्फ जाँदै गरेको म.१ ह १२३३ नम्बरको अटोबाट खसेर अटोमा सवार सोही ठाउँ बस्ने केशव ठगुन्नाको छोरा १३ वर्षीय निराजन ठगुन्नाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता मोरङ, विराटनगर महानगरपालिका-५ स्थित सडकमा दावाबन्दीबाट केशलीयातर्फ जाँदै गरेको प्र.१-०४-००१ त ०४१० नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुनसरी बर्जु गाउँपालिका-२ बस्ने ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यता सिरहा, बरियारपट्टी गाउँपालिका-४ शोहपुरस्थित सडकमा शोहपुरबाट हरिपुरतर्फ जाँदै गरेको स.१ त ६३७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरज रायको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार