नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।


राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाटमा सत्तापक्षीय दलका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झुटो भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकको आकस्मिक समयमा सांसद ढुङ्गानाले सत्तापक्ष र सहमहामन्त्रीभन्दा पनि कांग्रेस पार्टीलाई आक्षेप लगाइएकाले प्रमाण पेस गर्न वा माफी माग्न माग गर्नुभएको हो । साथै उहाँले सांसद लिङदेनको भनाइ रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गर्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद् ढुङ्गानाले उठाउनु भएको विषयका बारेमा आफूलाई ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।

