नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ वैशाख ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु.६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ नगरपालिका-८ बस्ने ६० वर्षीय डम्बर बहादुर खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै मोरङको सुनवर्षी नगरपालिका-९ लक्ष्मी टोलस्थित सडकमा डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २० वर्षीय साहवन आलमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु.३४ प ११०७ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक कपिलवस्तु वाणगंगा नगरपालिका-२ बस्ने १८ वर्षीय समिर थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ एचआईडीस्थित सडकमा पोखराबाट कटारीतर्फ जाँदै गरेको ना.७ ख ११०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री पर्सा सखुवा प्रसौनी गाउँपालिका-३ कटैया बस्ने ३६ वर्षीय प्रबेज अन्सारीको आइतबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उता पाल्पको रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वर असारेस्थित सडकमा असारेबाट ठुलापोखरीतर्फ जाँदै गरेको लु.१ ज २३७७ नम्बरको जिप अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार मध्ये सोही गाउँपालिका-१ असारे बस्ने २२ वर्षीय जनक रेगामीको मिसन अस्पतालमा तथा ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको जिल्ला अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका चालक समेत दुई जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

