लोकतान्त्रिक योद्धा भण्डारी र भूर्तेललाई नागरिक सम्मान

भद्रपुरमा मेची पुल निर्माणका लागि नागरिकबाट सङ्कलन गरिएको चन्दा रकम तत्कालीन राजालाई दिने पञ्चायती शासकको निर्णयविरुद्ध संघर्षमा उत्रिदा जेल परेका यहाँका दुई राजनीतिक योद्धालाई नागरिक सम्मान गरिने भएको छ ।

विर्तामोडको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले मेचीनगर नगरपालिका-९ का याम भण्डारी र भद्रपुर नगरपालिका-८ का दिव्य भूर्तेललाई रु एक लाख एक हजार नगदसहितको पूर्ण–टुंग आदर्श नागरिक सम्मान प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले बताउनुभयो ।



विसंं २०२८ मा भद्रपुरका नागरिकले मेची पुल निर्माणका लागि रु २५ लाख चन्दा सङ्कलन गरेका थिए । सो रकम पुल नबन्दै तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रलगायत पञ्चायती नेताहरुले तत्कालीन राजा महेन्द्र शाहलाई थैली भेट भन्दै बुझाएका थिए । नागरिकबाट उठेको चन्दा राजालाई दिएको भन्दै आन्दोलन हुँदा भण्डारी र भूर्तेललाई पञ्चायती शासकले पक्राउ गरेर चरम यातनासहित जेल हालेका थिए ।

निरंकुशतन्त्रको विरुद्ध नागरिक अधिकार, लोकतन्त्र वहाली र समाज रुपान्तरणका लागि साहसिक एवम् अतुलनीय संघर्ष गरेको कदरस्वरुप भण्डारी र भूर्तेललाई नागरिक सम्मान प्रदान गर्ने बुधवार प्रतिष्ठानको बैठकले निर्णय गरेको बस्नेतले जानकारी दिनुभयो ।

गत वर्ष यो सम्मान प्रसिद्ध कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई प्रदान गरिएको थियो ।

आगामी वैशाख २० गते विर्तामोडमा एक समारोहबीच यस वर्षको सम्मान अर्पण गरिने बस्नेतले बताउनुभयो ।

२०६५ सालमा बन्यो पुल

भद्रपुरमा भारतको गलगलिया जोड्ने मेची पुल निर्माणको इतिहास रोचक छ । विसं २००९ मै भद्रपुरका सूरजमल अग्रवालको संयोजकत्वमा पुल निर्माणका लागि पहिलोपल्ट समिति गठन भएको थियो ।

पुलको तीन पटक शिलान्यास भएको थियो । पहिलो शिलान्यास पञ्चायतकालमै अञ्चलाधीश मिश्रले गरेको थियो भने दोस्रो शिलान्यास विसं २०४१ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गर्नुभएको थियो ।

तेस्रोपटक विसं २०६६ मा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गर्नुभएको थियो । तेस्रो पटकको शिलान्यासपछि रु ३७ करोडको लागतमा पुल निर्माण भएको थियो । उक्त पुलको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ माघ १७ गते विधिवत् उद्घाटन गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार