आज यी स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ ।

जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार