नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ वैशाख ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कैलाली, भजनी नगरपालिका-७ चर्रा गणेशमान चोकस्थित सडकमा युपि ३१ एयु ७३२० नम्बरको मोटरसाइकललाई बिएब ४५९२ नम्बरको स्कारपियोले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय कुल्दिप धोबीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजिवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रोल्पा, परिवर्तन गाउँपालिका-३ बागमारास्थित सडकमा दुईखोलीबाट बागमारातर्फ जाँदै गरेको लु.प्र.०२-००१ त ८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक दाङ घर भएका २९ वर्षीय खिम बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै कालिकोट, खाडाचक्र नगरपालिका-३ ताडीस्थित सडकमा क.प्र.०२-००२ प ५८७६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय धनकृष्ण पाण्डेको मृत्यु भएको छ । आइतबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्म हुँदै थप उपचारको लागि सुर्खेत कालागाउँतर्फ लैजाने क्रममा बाटोमै सोमबार बिहान मृत्यु हो ।
उता झापा, भद्रपुर नगरपालिका-४ झापा चोकमा चन्द्रगढीबाट बनियानीतर्फ जाँदै गरेको प्र.१-०१-०१२ प ९९३७ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता धनुषा, हंशपुर नगरपालिका-३ मझौरास्थित सडकमा बकचौराबाट मझौरातर्फ आउँदै गरेको ज.८ प १४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मिथिला बिहारी नगरपालिका-७ तारापट्टी बस्ने ४४ वर्षीया पुनिता देवी ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै बाँके, कोहलपुर नगरपालिका-११ दशबिगाहस्थित सडकमा भे.१ ह ९५६१ नम्बरको ई-रिक्सालाई भे.१ ज ६०६ नम्बरको भ्यानले आइतबार साँझ ठक्कर दिँदा ई-रिक्सा चालक कोहलपुर नगरपालिका-११ शान्तिनगर बस्ने जाजरकोट शिवालय गाउँपालिका-५ घर भएका ३३ वर्षीय भीम बहादुर शाहीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

