

सन् ५४ देखि ६८ सम्म नीरो रोमन साम्राज्यका सम्राट बने । उनले १७ वर्षकै कलिलो उमेरमा सम्राट बन्ने सौभाग्य प्राप्त गरेका थिए । उनलाई रोमन साम्राज्यको सम्राट बनाउनमा उनकी आमा ऐग्रिप्पिनाको ठूलो भूमिका रहेको थियो भनेर मानिन्छ । प्रारम्भिक दिनहरूमा नीरोको शासन व्यवस्था ठीकठाकै थियो । तर जति जति समय बित्तै गयो, सम्राट नीरो झन झन क्रूर र अत्याचारी बन्दै गए । उनको शासन व्यवस्थामा प्रश्न उठाउन थालेपछि उनले आफ्नै आमाको पनि हत्या गरिदिएका थिए, जसले उनलाई रोमन साम्राज्यको सम्राट बनाउन अनेक प्रपञ्च मिलाएकी थिइन् ।
समय बित्तैजाँदा सम्राट नीरो झनै विलासी, अत्याचारी र निरङ्कुश बन्दै गए । उनी यतिसम्म क्रूर बने कि उनको शासन व्यवस्थामा विमति राख्ने जोसुुकै भए पनि उनले सबैको निर्ममतापूर्वक हत्या गरिदिए । उनको अत्याचार र गैह्रजिम्मेवारीपनले सन् ६४ मा उत्कर्ष रूप लियो । त्यसै वर्ष रहस्यमय रूपमा रोम शहरमा आगो लाग्यो । आगजनीका कारण पूरै रोम शहर जलिरहेको थियो, सयौंको संख्यामा नागरिकहरू समेत हताहत भइरहेका थिए तर पनि सम्राट नीरो भने दरबारको झ्यालबाट आगोको लप्का हेरेर आनन्दले बाँसुरी बजाइरहेका थिए ।
त्यसैबेलादेखि आफ्नो जिम्मेवारी नबुझ्ने शासकहरूप्रति व्यङ्ग्य गर्दै भन्न थालियो– रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछन् ।
इतिहास भन्छ– ६ दिनसम्म रोम शहरमा लागेको त्यस आगजनीबाट सयौं नागरिक र शहरको ठूलो हिस्सा जलेर नष्ट भएको थियो तर सम्राट नीरोको तर्फबाट आगो निभाउन कुनै सार्थक पहल भएन । सम्राटको भूमिकाबाट क्रूद्ध बनेको रोमन सिनेटले आफ्नै सम्राट नीरोलाई पहिले दुश्मन घोषणा गर्यो र पछि फाँसी नै दिनेसम्मको निर्णय गर्न पुग्यो ।
अन्ततः आफ्नो कुशासन र विलासीपन जोगाउन हजारौंलाई बलि चढाउन पनि नहिच्किचाउने निरङ्कुश तानाशाह नीरो पक्राउ पर्ने डरले आत्महत्या गरेर आफ्नो जीवन त्याग्न गर्न बाध्य बने । यसरी एउटा निरङ्कुश शासकको कहालीलाग्दो अन्त्य भयो ।
समय समयमा विश्व रङ्गमञ्चमा देखिएका निरङ्कुश तानाशाहरूको स्वाभाविक मृत्यु भएको पाइँदैन । नेपालको वर्तमान अवस्थालाई रोमन साम्राज्यका शासक नीरोको त्यस कालखण्डसँग तुलना गरेर हेर्दा कता कता के के सादृश्य भए जस्तो अनुभूति हुन्छ ।
नीरोको नेपाली संस्करण
नेपालमा अहिले आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, जनस्वास्थ्य, कृषि तथा शासकीय व्यवस्थासँग सम्बन्धित हजारौं समस्याहरू विद्यमान छन् । यस्ता समस्याहरूको क्रमिक सम्बोधन गर्दैजानेतर्फ कसैको पनि ध्यान पुगेको देखिँदैन । आम जनताले समस्या निराकरणको लागि आशामुखी बनेर सरकारतिर हेरिरहँदा सरकारमा बसेकाहरू भने बेसुरे राग अलापिरहेका छन् । उनीहरूको नजर भदौमा आँखा फुटेको गोरुले जस्तै बनेको छ, सबैतिर हरियाली मात्र देख्छन्; समृद्धि मात्र देख्छन् । अनि, जनताको आवाजलाई उनीहरूको विरोध गरेको ठान्छन् ।
भन्नेगरिन्छ– दुईतिहाइको सरकारले गर्न नसक्ने केही हुँदैन । तर यो मान्यतालाई पनि ‘कामै गर्न दिएनन्’ भन्ने बाहनामा ओली–देउवा गठबन्धन सरकारले असत्य सावित गरिदियो । गर्नुपर्ने धेरै थियो तर केही गर्न सकेनन्, तैपनि सरकार मुलुकमा समृद्धिले शिखर चुमेको हावादारी तथ्यहरू अलापिरहेछ । सीमित भक्तहरू ओलीलाई देवत्वकरण गरेर सरकारको जय–गान गाउनमा मस्त छन् । बिचरा हामी नेपाली जनता भने ढुङ्गो पाक्ने अपेक्षामा अँगेनो कुरेर बसिरहेका छौं ।
लक्ष्य भेदन गर्ने अर्जुन दृष्टि नभएका र इच्छाशक्ति मरेका नेताहरू भएको देशमा मुलुक प्राकृतिक स्रोत र साधनले जतिसुकै भरिपूर्ण भए पनि कागलाई बेल पाकेजस्तो मात्र हुँदो रहेछ । छिमेकी मुलुकहरू चीन र भारतले विकास र समृद्धिले एउटा लोभलाग्दो उचाइ चुमिसक्ता पनि हामीले ती मुलुकहरूबाट केही सिक्न सकेनौं । सिक्न चाहने हो भने चीन र भारत राजनीतिका खुल्ला विश्वविद्यालयहरू हुन् । दुई विपरीत राजनीतिक सिद्धान्त बोकेका दुई मुलुकहरूलाई विकासको पथमा अगाडि बड्न राजनीतिक सिद्धान्त बाधक बनेन । नेतृत्व सक्षम भए पछि राजनीतिक सिद्धान्त त सामान्य आवरण मात्र बन्दो रहेछ । ‘नाच्न जान्दैन, आँगन टेडो’ भनेझैं नेपालका नेताहरू भने विभिन्न बाहनामा आफ्नो अकर्मण्यताको कालो अनुहारलाई ‘कामै गर्न दिएनन्’ भन्ने खास्टोले छोप्ने प्रयत्नमा आफ्नो सम्पूर्ण ऊर्जा खर्चगरिरहेका छन् । अनि जनताले चाहिँ उनीहरूको आलापलाई पत्याइदिनु पर्ने रे !
अपराध र भ्रष्टाचारका ठूला ठूला फाइलहरू नखोलेर, नेतृत्वमाथि उठेका गम्भीर सवालहरूलाई पन्छाएर र भ्रष्टाचार र अनियमिततामा मुछिएका व्यक्तिहरूलाई सत्ता र शक्तिको दुरुपयोग गर्दै उन्मुक्ति दिएर वा आफूलाई मन नपरेका व्यक्तिलाई झूटा मुद्दामा फँसाएर गठबन्धन सरकारले आफ्नो उद्देश्य र हैसियत देखाइसकेको छ ।
ओली, देउवा र दाहाल एउटै ड्याङका मुला देखिए । यिनीहरूमा भेद देख्नु कसैप्रतिको आग्रह वा पूर्वाग्रहकोे प्रभाव मात्र हो । यिनीहरूको अलाप गर्ने शैली फरक होला तर प्रवृत्ति र क्षमतामा फरक देखिएन । अझै यिनीहरूबाट देशले निकास पाउँछ र छिमेकी मुलुकहरूजस्तै नेपाल पनि समृद्धिको पथमा गतिशील हुन सक्छ भनेर ठान्नु चाहिँ गोरु गाडामा चढेर अन्तरिक्षको यात्रा गर्न सकिन्छ भन्नुजत्तिकै हावादारी गफ सावित हुनेछ । यिनीहरूको कामगर्ने शैली र प्रवृत्ति देख्ता रोमनका तत्कालीन तानाशाह नीरोको विभिन्न संस्करणमा नेपालमा पुनर्जन्म भएको आभास हुन्छ । अभाव, बेथिति, बेरोजगारी र भ्रष्टाचारजस्ता सयौं समस्याका राप र तापले मुलुक जलिरहेछ, नीरोहरू भने बेसुरे बाँसुरी बजाइरहेछन् ।
