नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० वैशाख ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सिरहा, मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित सडकमा बा.प्र.०१-००४ क २९५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महराको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै बाँके, नरैनापुर गाउँपालिका-६ जमुनी चोकस्थित सडकमा यूपी ३२ इएस ७१४९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया साखरून खाँ को सोमबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालिमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै कैलाली, घोडाघोडी नगरपालिका-२ टनकपुरस्थित सडकमा से.७ प ७३७२ नम्बरको मोटरसाइकललाई बा.प्र.०१००६ ख ७१५० नम्बरको हाइसले सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-११ बस्ने ४५ वर्षीय नर बहादुर कडायतको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ पानीधारास्थित सडकमा लु. ३४ प ३१४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक बाणगंगा नगरपालिका-८ बोडगाउँ बस्ने ५० वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाईटेड अस्पताल गजेडहवामा उपचारको क्रममा मृत्यु भएको हो । यता रुकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० अमलाटाकुरास्थित सडकमा लु.प्र.०२-००१ च ०१७७ नम्बरको जिप अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५० वर्षीय नर बहादुर वली र ४४ वर्षीया लिला वली रहेका छन् । दुर्घटनामा नर बहादुरको घटनास्थलमै र गम्भीर घाइते भएकी लिलाको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

