विसं २०८१ को पद्मप्रसाद दाहाल स्रष्टा सौगात गोपी सापकोटालाई

विसं २०८१ को पद्मप्रसाद दाहाल स्रष्टा सौगात स्रष्टा गोपी सापकोटालाई प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालय गुह्येश्वरीमा मङ्गलबार आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशि रु २० हजार एवं प्रमाणपत्रसहित स्रष्टा सापकोटालाई पुरस्कृत गरिएको थियो । विसं २०८१ को १४ वटा स्रष्टा सम्मान पुरस्कारमध्ये १३ वटा २०८१ पुस १२ गते प्रदान गरिएको थियो ।

बेलायत निवासी स्रष्टा सापकोटा त्यसबेला नेपाल आउन नपाउनु भएकाले पुरस्कार वितरण बाँकी रहेको समाजका सभापति रेनुका पौडेलले राससलाई जानकारी दिनुभयो । नेपाल आगमनको अवसर पारेर मङ्गलबार स्रष्टा सापकोटालाई सो पुरस्कार प्रदान गरिएको हो ।

शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कारअन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको थियो । कात्तिक २८ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनोट समितिको बैठकले प्राप्त मनोनयनमध्येबाट यस्तो निर्णय गरेको थियो ।

विसं २०२९ भदौ ६ गते जन्मनुभएका गैँडाकोट नवलपुर निवासी (हाल बेलायत) स्रष्टा सापकोटाको एक अन्त्य एक सुरुआत कविता सङ्ग्रह, खरानी नाटक सङ्ग्रह, कमिलाको सपना बाल कथा सङ्ग्रह, काँचो कागज उपन्यास र अङ्ग्रेजी कविता सङ्ग्रह अ सुसाइड नोट गरी ११ वटा कृति प्रकाशित छन् । स्रष्टा सापकोटाले नेपाली राइटर्स इन इङ्लिस काठमाडौँको सचिव भएर आठ वर्ष काम गरिसक्नुभएको छ ।

सम्बन्धित समाचार