नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-८ सन्तपुर चोक नजिकै सडकमा चपुरबाट डुमरीयातर्फ जाँदै गरेको ना.३६ प १२०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय हरी चौधरीको बुधबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे ट्रामा चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-८ सन्तपुरस्थित सडकमा गरूडाबाट चपुरतर्फ जाँदै गरेको ना.५६ प २९८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार वृन्दावन नगरपालिका-६ हर्षाहा बस्ने ३८ वर्षीया सविता देवीको मृत्यु भएको छ ।
मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको चपुरस्थित सिभिल अस्पताल हुँदै न्यूरो अस्पताल वीरगंजमा थप उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ अञ्चलपुरस्थित सडकमा बुटवलबाट भैरहवातर्फ आउँदै गरेको लु.७५ प ७८४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक लुम्बिनी साँस्कृतिक नगरपालिका-९ बस्ने १९ वर्षीय निरज विश्वकर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

