अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सहयोग पु-याउन आफू तयार रहेको बताउनुभएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान प्रारम्भ गरिसकेकाले अनुसन्धानमा कसरी सहयोग पुग्छ, के के गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि आफू तयार रहेको बताउनुभयो ।

“आयोगको अनुसन्धान पश्चात जो दोषी देखिन्छ उसलाई कानुन बमोजिम कारबाही हुने नै भएकोले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतास नबनौँ र हतार नगरौँ भन्ने मेरो आग्रह छ”, मन्त्री लेखकले भन्नुभयो, “स्वतन्त्र, सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टिकरण दिइरहनु नपर्ला भन्ने लागेको छ ।”

उहाँले कोही राष्ट्रसेवक कर्मचारीलाई कुनै कसुरमा छानबिन, अनुसन्धान गर्न पर्यो वा मुद्दा दायर भयो भने त्यसको जिम्मा विभागीय मन्त्रीले लिने हो भने हरेक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने मुद्दाको जिम्मेवारी त मन्त्रीले लिने कि नलिने भनी प्रश्न गर्नुभयो ।

“अहिले बजारमा म माथि सृजना गरिएका भ्रामक समाचारको जवाफ दिन मैले समाचार प्रकाशन भएकै दिनमा सम्माननीय सभामुखमार्फत समय मागेको थिएँ । म लोकतन्त्र र संसदीय सर्वोच्चताको पक्षपाती जनप्रतिनिधि भएकोले म माथि उठेको प्रश्नको प्रष्टिकरण जनताको थलोबाटै दिन चाहन्थें , तर त्यो सम्भव भएन ।”

गृह मन्त्रालयको नेतृत्वको हैसियतले वा विभागीय प्रमुखको हैसियतले नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रित रहेको र राजनीतिक विषय वा कुनै आदेश निर्देशनको अवस्थामा मात्र आफ्नो भूमिका बढी रहने प्रष्ट पार्नुभयो । “यस्तो अवस्थामा कुनै कार्यालयमा घटित कुनै घटनासँग मेरो भूमिका वा संलग्नता कसरी हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले गलत तथ्य र सूचनामा आधारित रहेर राजनीतिक अभिष्ट पूरा गर्न गरिने गलत कार्यप्रति आम नागरिक सजग रहनसमेत आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार