गणतन्त्र दिवसमा चुलिएको असन्तोष : एउटा राजा गए, सयौं राजा जन्मिए !’

आज जेठ १५ गते, देशभर अठारौं गणतन्त्र दिवस मनाइँदैछ। इतिहासका पानामा सुनौला अक्षरले लेखिएको यो दिन जनताको बलिदान, आँसु र रगतको याद हो। तर, विडम्बना- आज त्यो बलिदानको फलस्वरूप आएको गणतन्त्रले गणतन्त्रकै लागि त्याग तपश्या र बलिदान दिने जनता भुल्न थालेको छ।

२०६२/०६३ को आन्दोलनमा लाखौं जनता सडकमा उर्लिए। नारा थियो- ‘राजतन्त्र हटाऔं, गणतन्त्र ल्याऔं !’ राजधानीको मुटुमा विराजमान सिंहदरबार गाउँ-गाउँ पुर्‍याउने सपना बोकेर देशले राजतन्त्रको अन्त्य गर्यो तर आज जनता सोधिरहेका छन् – “गणतन्त्रको नाममा के पायौं ? के यही दिन हेर्नका लागि आफ्नो ज्यान जोखिममा हालेर सडकमा उत्रिएका थियौं ?”



हिजो नारायणहिटीमा बस्ने एउटा राजा थिए, आज सिंहदरबारमा बसेका ६०१ जना जनप्रतिनिधिहरु महाराजा बनेका छन्। गणतन्त्रको मर्म थियो- जनताले सरकारलाई नियन्त्रण गर्ने, उत्तरदायी शासन व्यवस्था हुने, समावेशिता र कानुनी राज्यको स्थापना हुने, तर यथार्थमा त्यस्तो केही भएन । बरू–

  • देशका नेताहरू धनी हुँदै गए, जनता अझै गरिब नै रहे ।
  • विदेश जाने लाइन झनै लामो भयो, देशभित्र अवसर रहेन ।
  • भ्रष्टाचार संस्थागत बन्यो, अख्तियार हात्तीको देखाउने दाँत भयो ।
  • सिंहदरबार झन् टाढा बन्यो, गाउँमा ‘छोटे राजा’हरू उम्रिए ।
  • शिक्षा, स्वास्थ्य, रोजगारी सबथोक निजीकरणको सिकार बन्यो ।
  • सुशासन त दिवास्वप्न जस्तै बन्यो ।

परिणामतः जनता निराश छन् । हिजो जो जो गणतन्त्रका लागि प्रहरीको लाठी, अश्रुग्यास र गोली सहेर सडकमा उत्रिएका थिए, आज उनीहरू भन्न थालेका छन्- “यो व्यवस्था त सीमित नेताहरूका लागि मात्रै उर्भर बन्यो, हामी त फेरि पनि ठगियौं।”

गणतन्त्रको मिठो स्वाद त जनताले आश्वादन गर्न पाउनुपर्ने हो, तर व्यवहारमा गणतन्त्र ‘ठेक्कामा लिएको निजी कम्पनी’ जस्तो देखिन थालेको छ, जहाँ कमिशन, भ्रष्टाचारले संस्थागत हुने अवसर पाएको छ ।  फेरि पनि तिनै कमिशनखोर र भ्रष्टआरोपितहरू गणतन्त्रको अवसरमा सदाचारको वक्तव्य दिँदैछन् । त्यो पनि जनताले पत्याइदिनुपर्ने ! कस्तो विडम्बना !

देशको वास्तविक अवस्था-

सत्तापक्षका आँखाले देशको चारैतिर हरियाली देखे पनि देश दयनीय अवस्थाबाट गुज्रिरहेको छ l
– वैदेशिक ऋणको भारमा टाट पल्टिन लागेको छ।
– राष्ट्रिय उत्पादन घट्दो छ, आयातमा निर्भरता बढ्दो छ।
– युवाहरू स्वदेशमा सम्भावना नदेखेर लाखौंको संख्यामा विदेशिने क्रम जारी छ। भिजिट भिसाको नाममा अवैध रूपमा विदेश पठाउने उच्चस्तरीय सेटिङ्को पर्दाफासले नेपालको अन्तर्राष्ट्रिय स्तरमा बेइज्यत भएको छ ।

सारमा, गणतन्त्रको नाममा देशमा लुटतन्त्र चलेको जनताले नजिकबाट नियालिरहेका छन् । कति भ्रष्टहरू सत्तामा छन् र कति निर्दोसहरू जेलमा छन, त्यो पनि नियालिरहेका छन् । स्वार्थसमूहसँग सरकारको गठजोर पनि जनताको आँखाबाट लुकेको छैन । जनताको धैर्यताको बाँध टुटेका दिन को–कसलाई बगाएर कहाँ पुर्याउने हो, अहिले अनुमान गर्न गाह्रो छ ।

सम्बन्धित समाचार