

साथीहरूले योजना नै बनाएको भए पनि मेरा लागि यो यात्रा आकस्मिक नै थियो । आकस्मिक रूपमा नै भए पनि जेष्ठ १५ गते बिहानको ५ बजे काठमाडौंबाट सुरु भएको यात्राका क्रममा नेपालको पूर्वी नाका काँकरभिट्टा हुँदै छिमेकी देश भारतको उत्तर पूर्वी राज्य सिक्किम र त्यपछि दार्जिलिङसम्म पुगियो र फर्किने क्रममा नेपालको मध्य पूर्वमा रहेकोे सुन्दर स्थल इलाम र कन्यामको प्राकृतिक सौन्दर्यलाई आत्मसात् गर्ने सुअवसर पाइयो । प्राकृतिक सौन्दर्य, ऐतिहासिक बोध र सांस्कृतिक–संवेदनाले ओतप्रोत यो यात्रा सामान्य दृश्यावलोकनमा मात्र सीमित रहेन, जीवन–भोगाइसँग जोडिएको मिठो अनुभूतिको साक्षी पनि बन्न पुग्यो ।
काठमाडौं–काकरभिट्टा
पहिलो दिन काठमाडौंदेखि निजी गाडीबाट नेपालको पूर्वी नाका काकरभिट्टासम्म पुगियो । बाटोमा पर्ने हरियाली, जङ्गल, नदी–खोला पार गर्दै रमणीय स्थानमा गाडी रोकेर प्राकृतिक सौन्दर्यको दृश्यपान गर्दै र सेल्फी लिँदै काकरभिट्टासम्मको यात्रा गर्दा साँच्चै रमाइलो अनुभूति गर्न पाइयो । पारिवारिक यात्रा भएकोले यात्रा झन रोमाञ्चक बन्यो ।
कर्मक्षेत्र बनेको काठमाडौं खाल्टोबाट पारिवारिक यात्राका लागि निस्कँदा पिञ्जडाबाट उम्केको पक्षी जस्तै भइएछ । साथीभाइबीच दिनभरिको अनुभव सेयर गर्दै त्यस दिन काँकरभिट्टामा बास बसियो । भोलिपल्ट भारतको सिक्किमतिर लाग्नु थियो । सिक्किमको ऐतिहासिक यात्रा भएकोले हामी सबैको मन रोमाञ्चित बनेको थियो । मनमा सिक्किम यात्रा बारे विभिन्न परिकल्पना गर्दै होटलमा आराम गरियो ।
काँकरभिट्टा–सिक्किम
जेठ १६ गते बिहान ६ः३० बजे पूर्वको काँकरभिट्टा नाका हुँदै मेची नदी पार गरी भारततर्फ प्रवेश गरियो । नेपाल भारतको सीमा बनेको मेची नदी पार गरेपछि भारतको पश्चिम बङ्गाल राज्य आउँछ । हामी पश्चिम बङ्गालको पानीट्याङ्की, नक्साल, बागडोग्रा तथा सिलिगुडीको छेउ हुँदै भारतको उत्तरपूर्वी राज्य सिक्किमतिर लाग्यौें । सिक्किम पहाडी राज्य रहेछ । पहाडको रमणीय हरियाली नियाल्दै हामी टिस्टा नदीको किनारै किनार सिक्किमको राजधानी गान्तोकतिर लाग्यौं ।
करिब ७ हजार वर्ग किलोमिटर क्षेत्रफल तथा करिब ६ लाख जनसङ्ख्या भएको सिक्किम भारतको सबैभन्दा सानो राज्य पनि रहेछ । स्वतन्त्र सिक्किम देश सन् १९७५ मा भारतको अङ्ग बनेको जानकारी पाइयो । पहाडको थुम्कोमाथि बसेको जस्तो देखिने र प्राय बादलसँग लुुकाकारी खेलिरहने राजधानी गान्तोक पर्यटकीय दृष्टिले एकपल्ट पुुग्नै पर्ने ठाउँ रहेछ ।
नौ जनाको हाम्रो टोली अपरान्ह ५ बजेतिर गान्तोक पुग्यो । गान्तोकमा अधिकांश मानिस नेपाली भाषा नै बोल्दारहेछन् । त्यहाँको भेषभूषा र साँस्कृतिक गतिविधि हेर्दा हामी नेपालकै कुनै रमणीय पहाडी क्षेत्रमा आइपुगेको जस्तो लाग्यो । घुम्न क्रममा भाषा र संस्कृति मिल्ने ठाउँमा पुग्दा छुट्टै खालको आत्मीयता महसुुस हुँदोरहेछ । गान्तोकले हामीलाई आफ्नै खालको आत्मीयता जगाइदियो ।
गुम्बा तथा गान्तोकको चर्चित एमजी रोड लगायतका विभिन्न ठाउँमा राती अवेरसम्म घुम्दा छुट्टै खालको रमाइलो महसुस भइरहेको थियो । घुम्ने रहर पुगेकै थिएन, रात अबेर भएकोले खाना खाएर होटलमा बास बस्न बाध्य भयौं ।
गान्तोक–दार्जिलिङ
सिक्किम घुम्ने रहर पुगेकै थिएन तर समय–सीमाले गर्दा भोलिपल्ट बिहानै गान्तोकबाट दार्जिलिङका लागि रमना भयौं । कुनै बेला भारतमा पूर्वको मोती भनेर चिनिने दार्जिलिङको पनि ऐतिहासिक महत्व रहेको थियो । दार्जिलिङ कुनै बेला शिक्षाको हब नै मानिन्थ्यो ।
नेपालका राजा–महाराजाका छोराछोरीदेखि धनीमानीका सन्तानहरू दार्जिलिङमा बढ्ने गरेको सुनिएको थियो । दार्जिलिङको छुकछुके रेलको चर्चा पनि खुुबै हुने गर्दथ्र्यो । गोर्खाल्याण्डको लागि भएको आन्तरिक सङ्घर्षका कथा–व्यथाका बारेमा पनि धेरथोर सुनिएको थियो ।
यस पृष्ठभूमिमा दार्जिलिङको यात्राले हामी सबैको मनमा कौतुहतलता बढाइदिएकोे मात्र थिएन, कति बेला दार्जिलिङको भूमि स्पर्श गर्न पाइएला भनेर पनि रोमाञ्चित पनि बनाइदिएको थियो ।
गान्तोकबाट प्रस्थान गरेको लगभग ७ घण्टाको मोटर यात्रापछि अपरान्ह ३ बजेतिर हामी दार्जिलिङ प्रवेश गर्यौं । हामीलाई आजै बेलुकासम्मा नेपाल छिर्नु थियो, त्यसैले हामीले हतार हतारमा त्यहाँको रेल्वे स्टेशन, मनोहर बगौंचा, म्याजियम, चिडियाखानाआदि ठाउँहरूमा भ्रमण गर्यौं । भीरपाखामा टाँसिएजस्ता देखिने घरहरू, साँघुरा सडक र सघन बस्तीले यस क्षेत्रलाई विशिष्ट बनाएको रहेछ ।
दार्जिलिङ ४-५ घण्टामा अवलोकन गरेर सकिने ठाउँ नै होइन रहेछ, तर फेरि कुनै दिन समय लिएर घुम्न आउने मनमनै वाचा गर्दै त्यहाँबाट नेपालको सीमा पशुपतिनगरतिर लाग्यौं ।
काँकरभिट्टाबाट भारत छिरेका हामीहरू गान्तोक र दार्जिलिङको छोटो तर रोमाञ्चक यात्रा पूरा गरेर पशुुपतिनगर हुँदै पुनः नेपाल प्रवेश गर्यौं ।
दार्जिलिङ–इलाम
दार्जिलिङबाट ढिलै गरी सीमा नाका इलामको पशुपतिनगर हुँदै अन्तुतिर लाग्यौं । पूर्वी नेपालको इलाम प्राृकतिक सौन्दर्य र घुम्नका लागि रमणीय जिल्लाका रूपमा चिनिन्छ । राती भएकोले भोलि इलामका रमणीय स्थानको भ्रमण गर्ने सोच बनाउँर्दैै अन्तुस्थित एउटा होटलमा रात बितायौं ।
जेठ १८ गते बिहान इलामको माइपोखरी, अन्तु डाँडा, सनराइज र कन्याम क्षेत्रको रमणीय दृश्यावलोकन गरियो । आजै काठमाडौं फर्किने सेड्युल बनेको हुुँदा इलामको पनि राम्रो अवलोकन गर्न भ्याइएन । तर पनि कन्याम क्षेत्रको चियाबगानको रमणीय दृश्य भने लामो समयसम्म मानस पटलमा गहिरो छाप बनेर रहने ठान्यौं ।
भद्रपुर–काठमाडौं
कन्यामको KANYAM लेखेको सेल्फी डाँडामा स्मरणका लागि केही सेल्फी फोटो खिचेर हतार हतार झापाको भद्रपुर एयरपोर्टतिर लाग्यौं । तर प्लने डिले भएर राती ९ बजे मात्र काठमाडौंका लागि उड्न सफल भयौं । प्लेनले झण्डै झापाको बास गराएको ।
यसरी जेठ १५ गते बिहानको झिसमिसेमा आकस्मिक रूपमा आरम्भ गरेको भारतको सिक्किम, दार्जिलिङ तथा पूर्वी नेपालको प्राकृतिक छटाले भरिपूर्ण र रमणीय जिल्ला इलामको अवलोकन भ्रमण पूरा गरी १८ गते राती करिब १० बजे काठमाडौंको त्रिभुुवन विमानस्थलमा अवतरण गरेपछि हाम्रो ४ दिने यात्रा पूूरा भएको छ । समयका हिसाबले यो छोटो भ्रमण भए पनि यसले हामीमा छोडेको प्रभाव भने गहिरो छ ।
छोटै भएपनि सिक्किम र दार्जिलिङको भ्रमणले हामीलाई नयाँ ऊर्जा प्रदान गरेको मात्र छैन, त्यहाँको रहन सहन, जीवन दर्शन, भाषा, भेषभूषा र संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गरेको छ । बाहिरी आवरण र बोलीचालीका हिसाबले नेपालीजस्तै लाग्ने सिक्किमे र दार्जिलिङे जनताको सोझो र सरलपन, हामी नेपालीहरूप्रति देखाउने सद्भावपूर्ण व्यवहार र उनीहरूको नेपालप्रतिको दृष्टिकोण उच्च कोटिको लाग्यो ।
मलाई त भाषा, भेषभूषा र संस्कृतिप्रतिको प्रेम हामीले उनीहरूबाट सिक्नुपर्ने रहेछजस्तो लाग्यो । अवलोकन भ्रमण नभएर अध्ययन भ्रमण गर्न पाएको भए त्यहाँबाट हामी अझ धेरै कुरा सिक्न पाउने रहेछौं जस्तो आभास गरायो ।
चिया उत्पादनको हिसाबले पनि चर्चित झापा र इलाम जिल्लाको भ्रमण पनि उल्लेख्य रह्यो । अवलोकन भ्रमणका हिसाबले झापा जिल्लालाई र दमकको चर्चित ओलीको टावरलाई नजिकबाट नियाल्न नपाएको पछुतो लुकाउन मन लागेन । कुनै दिन त्यो अवसर पनि जुर्ला । थोरै भए पनि इलामका केही पर्यटकीय स्थलसम्म पुग्न पाएकोमा भने खुसी लागेको छ ।।
