नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।


जब सामाजिक सेवाको कुरा आउँछ, धेरैले राज्यको सहयोग वा अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थन खोज्ने गर्छन्। तर यस्ता मान्यता र परिभाषाहरूलाई चुनौती दिँदै, आफ्नो निजी जीवनको सारा सु:ख, समय र ऊर्जा अरूको जीवन उज्यालो बनाउन समर्पित एक व्यक्ति र संस्था छन् – भिम कुमार रोक्का मगर र एकिकृत समृद्धि नेपाल।
२०६८ साल वैशाख १२ गते कानुनीरूपमा दर्ता भई सञ्चालनमा आएको यो संस्था कुनै ठूलो आर्थिक स्रोत वा प्रचारबिनाको शान्त तर गहिरो काम गरिरहेको उदाहरण हो। अध्यक्ष रोक्का मगरले तत्कालीन द्वन्द्वकालमा परिवार गुमाएका ७ जना टुहुरा बालबालिकाहरूलाई रोल्पाबाट काठमाडौं ल्याउँदै संस्थाको बिजारोपण गरेका थिए। आज त्यो बिउ बृहत् रूख बनेको छ – जसले ३५ जना टुहुरा र असहाय बालबालिकालाई छहारी दिइरहेको छ।
राज्य होइन, मानवीयता बन्यो साथ भिम कुमार रोक्का मगर भन्छन् – “न कुनै सरकारी सहायता, न कुनै एनजीओ वा आइएनजीओको फन्ड। देश-विदेशमा रहनुभएका केही मनकारी नेपालीहरूको माया, भरोसा र थोरै-थोरै सहयोगले यो संस्था बाँचिरहेको छ।”
संस्थामा आश्रित बच्चाहरू नेपालटार राष्ट्रिय माध्यमिक विद्यालय र ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत छन्। ५ वर्षदेखि २३ वर्ष उमेर समूहका यी बालबालिकाहरूको खानपान, पढाई, आवास, स्वास्थ्य जस्ता आधारभूत कुराहरूको व्यवस्थापन गर्न आफैं जुट्नु, आफैं चलाउनु – कुनै सानो काम होइन।
२ वर्षका दूधेबालकदेखि १७ वर्षे युवासम्मका जीवनको अभिभावक
संस्थामा रहेका धेरै बालबालिका सानैमा आमाबुबा गुमाएका छन्। कतिपयको त जन्मदर्ता प्रमाणपनि छैन। “मैले २ वर्षको दूधेबच्चालाई काखमा लिएर हुर्काएको छु। अहिले ती बच्चा १७ वर्षका भएका छन्। उनीहरू मेरो आफ्नै छोराछोरीजस्तै लाग्छन्,” अध्यक्ष मगरको अनुहारमा एक गहिरो आत्मसन्तुष्टि देखिन्छ।
क्यानडाबाट समाजसेवामा आदर्श बनेका जनक घिमिरे
यो संस्थाको पछिल्लो समयका प्रेरणादायी पात्र हुन् – जनक घिमिरे। नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२ का स्थायी बासिन्दा, हाल अध्ययनका लागि क्यानडामा रहेका जनकले २३ वर्षको युवा उमेरमै संस्थाको लागि सहयोग गर्ने भावनाले एकदिनको खाना खुवाउने मनसाय राखेर एक दिनको सम्पूर्ण खर्च बेहोरिदिएका छन्।
“जनक जस्तै समाजसेवी मनका धनी नन्दा गुरुङका मनहरूले नै यो संस्था बाँचेको छ। उहाँप्रति संस्थाका तर्फबाट गहिरो आभार प्रकट गर्दछु,” अध्यक्ष मगर भावुक हुँदै भन्छन्।
संस्थामा रहेका बालबालिकाहरूले पनि जनक घिमिरेलाई धन्यवाद व्यक्त गरेका छन्। साना हातहरू मिलाएर, बालशुलभ मुस्कानसहित उनीहरूले भनेका छन् –“जनक दाइ, धन्यवाद। तपाईंको मायाले हामी पढ्न र बढ्न पाइरहेका छौं।”
सामाजिक सेवामा मौन नायक : राज्यको आँखा कहिले लाग्ला?
पछिल्ला वर्षहरूमा प्रचारमुखी संस्थाहरूको भीडमा यस्ता मौन र निस्वार्थ संस्थाहरू ओझेलमा परेका छन्। एकिकृत समृद्धि नेपालले देखाएको सामाजिक समर्पणको भाव राज्यका लागि पनि आँखा खोल्ने खालको छ।
शिक्षा, स्वास्थ्य, मनोवैज्ञानिक हेरचाह, लालनपालन, र भविष्य निर्माणसम्मको सम्पूर्ण प्रक्रिया एक व्यक्तिले व्यक्तिगत लगानीमा निभाइरहनु केवल काम मात्र होइन – त्यो साँचो अर्थमा ‘जीवनको सेवा’ हो।
अन्त्यमा : प्रेरणाको श्रोत, सहयोगको अपेक्षा
भिमकुमार रोक्का मगरको १५ वर्षको निःस्वार्थ समर्पण नेपाली समाजमा आशाको उज्यालो बनेको छ। उहाँले भनेझैँ, “यी बाबु-नानीहरू मेरो जीवन हुन्। म उनीहरूका लागि बाँचेको छु। समाज र सरकारको थोरै साथले हामी अझ धेरै जीवन उज्यालो बनाउन सक्छौं।”
यसै सन्दर्भमा, देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीलाई संस्थाको सहयोगार्थ हातेमालो गर्न हार्दिक अनुरोध छ।

