नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ जेठ ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिराहाको मिर्चैया नगरपालिका-६ जितमान टोलस्थित सडकमा मिर्चैयाबाट सोनिगढवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरको टेलर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा टेलरमा सवार नरहा गाउँपालिका-३ बस्ने ४५ वर्षीय महेश प्रसाद यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फूल कुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । त्यस्तै रौतहटको गरूडा नगरपालिका-५ महमदपुरस्थित सडक छेउमा बिग्रिएर रोकी राखेको टेलरमा प्रदेश २-०३-०२० प ७२८४ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कटहरिया नगरपालिका-१ बस्ने २३ वर्षीय संजय कुमार साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको गरूडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ । यस्तै सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-८ बाघखोरस्थित सडकमा सल्लेरीबाट पत्तालेतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ स ९१९४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा अटोमा सवार ओखलढुङ्गा मोलुङ गाउँपालिका-८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थालमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका अटो चालक समेत ३ जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

