नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।


प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोधका बीच सदन सञ्चालन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको आकस्मिक समयमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले प्रतिपक्ष दलले विरोध गरेको अवस्थामा सदन सञ्चालन गर्नु सोभनीय नभएको उल्लेख गर्दै संसद नचालाउन अनुरोध गर्नुभयो ।
“भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही हुनुपर्छ भन्ने मागमा सबैले साथ दिनुहोस्”, उहाँले भन्नुभयो, “यसरी संसद् चलाउनु, यो संसदीय अभ्यास हैन, यस्तो अवस्थामा संसद् नचलाइयोस् । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।”
अर्का सांसद अमरेशकुमार सिंहले पनि नाराबाजीका बीच आफूले बोल्न नसक्ने सभामुखलाई जानकारी गराउनुभयो । नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले पाँचथर जिल्लाको हेवा खोलामा निर्माणधीन ‘बेलिब्रिज’ भत्किँदा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै सो घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको समान्य छलफल प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेलाई बोल्न समय उपलब्ध गराउनुभएको थियो । सांसद पाण्डेले रास्वपाको नाराबाजीका बीच सभा सञ्चालन गर्दा प्रभावकारी नहुने बताउनुभयो ।
“मन्त्रीज्यूले बजेटका सन्दर्भमा संशोधन गर्नुपर्ने महत्वपूर्ण विषयमा जानकारी गराउँदै हुनुहुन्छ । प्रतिपक्ष दलमध्ये एउटा दल नाराबाजीमा छ । यो नाराबाजीको अवस्थामा मन्त्रीले भन्नुभएको कुराहरु हामी सुनिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “सभा सञ्चालनको तरिका भएन । बैठक स्थगित गरेर, अवरोध गर्ने दलसँग सहमति गरी एउटा टुङ्गो पुगेर बैठक अघि बढाउनुहोस् ।”
